सुर्खेत : प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर सञ्चारकर्मी वीरेन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएपछि उनका आफन्तहरूले घटनाको सत्य तथ्य छानबिनको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।



सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ नम्बर वडा कार्यालय अगाडि शुक्रबार साँझ भएको दुर्घटनामा आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटीलाई कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा उनको मृत्यु भएपछि उनका आफन्त सहित कालीकोटका स्थानीयहरूले शनिबार बिहान देखी वीरेन्द्रनगरको यरी चोक, मुलपानी चोकमा टायर जलाएर प्रदर्शन गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रदर्शनकारीहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेपनि अहिले वीरेन्द्रनगर पूर्ण रूपमा तनाव ग्रस्त बनेको छ। प्रदर्शनकरीहरुले यरिचोकको चारैतिर डोरी लगाई सवारीआवतजावत पूर्ण रूपमा निषेध गरेका छन् ।

शुक्रबार राती वीरेन्द्रनगरको मुलपानीबाट भुरेली तर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको मोटरसाइकल र ३४ वर्षीय आचार्यले चलाएको स्कुटी एकआपसमा ठोक्किँदा दुवै घाइते भएका थिए। गम्भीर घाइते भएका सञ्चारकर्मी आचार्यको उपचारका क्रममा प्रदेश अस्पतालमा निधन भएको र मोटरसाइकल चालक शाहीको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ।












