डोल्पा । हिमाली जिल्ला डोल्पामा एक महिलाले ६६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् ।
जिल्लाको डोल्पोबुद्ध गाउँपालिका–६ की ६६ वर्षीया छुल्डिम साङमो गुरुङले ६६ वर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकता प्राप्त गरेकी हुन।


शारीरिक रूपमा सुस्त मानसिक अवस्थाकी गुरुङ्गले विगत लामो समयदेखि कानुनी प्रक्रिया पूरा गर्न नसक्दा नागरिकता लिन सकस बनीरहेको थियो । हालसम्म अनागरिक भएर बस्नुपर्दा उनले राज्यबाट पाउनु पर्ने सम्पूर्ण सेवासुविधाबाट बञ्चित हुनुपरेको थियो।
स्थानीय जनप्रतिनिधिको रोहबरमा बिहीबार डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाको सहजीकरणमा गुरुङलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ।
गुरुङको नागरिकता बनेसँगै सोही अवसरमा उनका ३६ र २३ वर्षका छोराले वंशजको नागरिकता आमाको नामबाट प्राप्त गरेका छन्।
माथिल्लो डोल्पामा बसोबास गर्ने उनीहरू सदरमुकाम दुनै आइपुग्न हप्ता दिन पैदल यात्रा गर्नुपरेको थियो। कानुनी प्रक्रिया, जानकारीको अभाव र भौगोलिक कठिनाइका कारण यस्तो उमेरसम्म नागरिकता नबनाईएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।











