रोल्पा। रोल्पाको थवाङ गाउँपालिका-१ मा २० जनाको ज्यान जानेगरी भएको जीप दुर्घटनापछि आज बिहानदेखि उद्धार कार्य पुनः सुरु गरिएको छ। बिहीबार साँझ परेको अँध्यारो र निरन्तर वर्षाका कारण रोकिएको उद्धार कार्य शुक्रबार पुनः सञ्चालनमा ल्याइएको हो।
स्थानीय प्रशासनका अनुसार घटनास्थलमा प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण हिजो राति शव संकलन तथा पहिचानको काम प्रभावित भएको थियो। अब भने सबै शव संकलन हुने र आजै मृतकहरूको पहिचान गर्ने तयारी भइरहेको जनाइएको छ।


जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री स्वयं घटनास्थलतर्फ जाँदै गरेका छन्। उनले सुरक्षा निकायहरू उद्धार कार्यमा खटिइसकेको जानकारी दिँदै भौगोलिक कठिनाइका कारण आवश्यक परे हेलिकप्टर प्रयोग गर्न सकिने बताए। ‘स्थलको अवस्था हेरेर आवश्यक निर्णय लिन्छौं,’ उनले भने।
त्यस्तै, ईलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेले पनि उद्धार कार्यमा तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार हेलिकप्टर प्रयोग भएमा उद्धार कार्य छिटो सम्पन्न हुने, अन्यथा ४–५ घण्टा लाग्न सक्ने अनुमान गरिएको छ।
दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक बिरेन्द्र बीर बिश्वकर्माको नेतृत्वमा १० जना, शस्त्र प्रहरी बलबाट नायब उपरीक्षक दिपेन्द्र कुमार पाण्डेको कमाण्डमा ११ जना, तथा नेपाली सेनाबाट नायब निरीक्षक शिशिर ठकुरी सहित १० जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिहीबार दिउँसो रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घाइते ३२ वर्षीयसमिर कामी लाई थप उपचारका लागि बाहिर रिफर गरिएको जनाइएको छ।
प्रशासनले उद्धार कार्य सकेपछि मृतकहरूको पहिचान गरी आफन्तलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाउने जनाएको छ।











