डोल्पा। डोल्पाको मुड्केचुला गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएका सबै यात्रुहरूको परिचय खुलेको छ।
सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीबाट मुड्केचुलाको खर्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा ब्रेक फेल भई दुर्घटनामा परेको थियो । दुर्घटनामा जिपमा सवार १५ जना यात्रु घाइते भएका थिए। यद्यपि घाइतेको संख्यामा भने थपघट हुन सक्ने प्रहरीले जनाएको छ ।


दुर्घटनामा रुकुम पश्चिम आठविसकोट नगरपालिका–५ का अन्दाजी १७ वर्षीय महेश मल्ल, डोल्पा मुड्केचुला–१ का अन्दाजी ४२ वर्षीय मञ्चराम रोका मगर, जाजरकोट भेरी नगरपालिका–१ की अन्दाजी २० वर्षीया उर्मिला राणा, मुड्केचुला–१ का १६ वर्षीय प्रवीण रोका मगर, जाजरकोटको नलगाड नगरपालिका–१२ का अन्दाजी १९ वर्षीय अबिन शाही, र नलगाड नगरपालिका–१२ का अन्दाजी १८ वर्षीय सूर्य मल्ल सहित अन्य घाइतेहरूको रुकुम पश्चिमको आठविसकोटस्थित राडी बजारको नगर अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, मुड्केचुला–३ की अन्दाजी २६ वर्षीया अन्जिता सिंहलाई नेपालगञ्ज, जाजरकोटको भेरी नगरपालिका–१२ की अन्दाजी १८ वर्षीया सम्झना बुढा र रुकुम पश्चिमको आठविसकोट नगरपालिका–६ का अन्दाजी १६ वर्षीय गणेश बोहोरालाई रुकुम पश्चिमको चौरजहारी अस्पतालमा थप उपचारको लागि पठाइएको मुड्केचुला १ का वडा अध्यक्ष पवन बूढाले जानकारी दिए । घाइतेमध्ये ६ जना सामान्य उपचारपछि घर फर्किएका छन्।
जिप चालक आकाश शर्मा भने दुर्घटनापछि फरार रही हालसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।











