डोल्पा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा डोल्पाका प्रभावशाली नेता हंश बहादुर शाहीले नेकपाले तोकेको पर्यटन विभागको जिम्मेवारी अस्वीकार गरेका छन् ।
उनले केन्द्रीय कमिटीलाई पत्र लेख्दै आफूसँग सो क्षेत्रको अनुभव र रुचि नभएको स्वीकार गर्दै, उक्त जिम्मेवारी दक्ष र युवा पुस्तालाई हस्तान्तरण गर्न माग गरेका छन् ।


पद र शक्तिमा टाँसिइरहने प्रवृत्तिका बीच शाहीको यो निर्णयले नैतिकता र मेरिटोक्रेसी (योग्यता प्रणाली) को बलियो उदाहरण प्रस्तुत गरेको नेकपा डोल्पाका नेताले बताएका छन् ।
विशेषगरी डोल्पा जस्तो भौगोलिक रूपमा विकट तर राजनीतिक रूपमा सचेत क्षेत्रबाट आएका नेताले युवा नेतृत्वको वकालत गर्नुले पार्टीभित्र पुस्तान्तरणको मुद्दालाई थप बल पुर्याएको नेकपा डोल्पाका नेताको दाबी छ ।
यसले आगामी दिनमा अन्य नेताहरूलाई पनि आफ्नो क्षमता र रुचिका आधारमा मात्र जिम्मेवारी लिन प्रेरित गर्ने देखिन्छ ।
भदौ २३ र २४ पछि फागुन २१ मा भएको निर्वाचन पछि पूराना दलका नेताहरुले समेत नयाँ दलकै शैलिमा युवाका कुरा पार्टीमा राख्दै आएका छन ।











