कालिकोट: कालिकोटमा सुख्खा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ। जिल्लाको पचालझना–६, घाटाचौर क्षेत्रको कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा सुख्खा पहिरो खस्दा उक्त सडक खण्डमा काम गरिरहेका पचालझरना गाउँपालिका–७ नूवाघर बस्ने २७ वर्षीय पृर्थी बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालय अनुसार नेपाली सेनाले सडक निर्माण गरिरहेको घाटाचौर कर्णाली नदी किनार क्षेत्रमा काम गरिरहेका कामदारको बिहीबार दिउँसो डेराबाट निर्माण स्थलमा तेल बोकेर जानेक्रममा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएका बोहोराको खोजतलासको क्रममा शुक्रबार शव फेला परेको थियो।


कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको घाटाचौरदेखि बाजुराको भुक्काखोलासम्म ११.०५ किलोमिटर चट्टानी सडक खन्ने काम नेपाली सेनाले गरिरहेको छ। यसमध्ये ६.४८५ किलोमिटर सडक खन्ने काम भइसकेको छ।











