पूर्ण सार्की/सुर्खेत : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका सीमामा अब सशस्त्र प्रहरी बलले सुरक्षा गर्ने भएको छ । माथिल्लो डोल्पाका नेपाल–चीन सिमावर्ती क्षेत्र मोरिम्ला र क्याटो नाका सुरक्षाविहीन रहँदै आएको अवस्थामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बिओपी) स्थापना गर्न जग्गा प्राप्त भएपछि अब यी सीमामा शसस्त्र प्रहरी बलले सीमाको सुरक्षा गर्ने भएको हो ।
शसस्त्र प्रहरी बलको लागि माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–६ स्थित फाल गाउँमा निःशुल्क जग्गा प्राप्त भएपछि बिओपी स्थापना गर्ने बाटो खुलेको छ । नेपाल–चीन सिमावर्ती क्षेत्र मोरिम्ला नाकानजिक पर्ने फाल गाउँमा बिओपी स्थापनाका लागि २ हजार २३५ वर्गमिटर जग्गा प्राप्त भएको सशस्त्र प्रहरी बल डोल्पाका नायब उपरीक्षक (डीएसपी) दिपकराज भट्टले जानकारी दिए। जग्गा प्राप्त भए सँगै अब भवन लगाएतका संरचना निर्माणका लागि बाटो खुलेको समेत उनले बताए।


उक्त जग्गा वडा नं ६ र गाउँपालिकाको समन्वयमा स्थानीय कार्माटासी गुरुङ र छिरिङ गुरुङले निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष नुर्बु गुरुङले जानकारी दिए। कार्माटासी गुरुङले १ हजार ९५ वर्गमिटर र छिरिङ गुरुङले १ हजार १४० वर्गमिटर जग्गा प्रदान गरेका हुन्। सशस्त्र प्रहरीको नाममा थप दुई रोपनी जग्गा उपलब्ध गराउनसमेत पहल भइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ।
भौगोलिक रूपमा अत्यन्तै विकट माथिल्लो डोल्पामा बिओपी स्थापना भएपछि सीमा सुरक्षासँगै शान्ति सुरक्षामा समेत सहयोग पुग्ने उपल्लो डोल्पाका स्थानीयतहले बताएका छन। माथिल्लो डोल्पामा चीनसँग जोडिएका मोरिम्ला र क्याटो नाका रहेका छन्।
डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गरी तीन स्थानीय तह रहेको यस क्षेत्रमा स्थानीय बासिन्दा वर्षौंदेखि चिनियाँ क्षेत्रबाट सामान किनमेल गर्दै आएका छन्।
वर्षौ देखि बिओपी नहुँदा नियमित सीमा गस्ती हुन नसकेको र मोरिम्ला तथा क्याटो नाका सुरक्षाविहीन बनेका छन्। स्थानीयका अनुसार चिनियाँ प्रहरी भने नियमित रूपमा सीमा क्षेत्रमा पुग्ने गरेको छ, तर नेपाली पक्षबाट सुरक्षा उपस्थिति अहिले सम्म पुग्न सकेको छैन ।
चार वर्षअघि १५ नम्बर सीमा स्तम्भ निरीक्षणका क्रममा पूर्वाधार विकास कार्यालय डोल्पाका इन्जिनियर प्रकाश बुढालाई चिनियाँ प्रहरीले नियन्त्रणमा लिन खोजेको तथा चिनियाँ पक्षले एकल रूपमा सीमा स्तम्भ रंगाएको घटनासमेत बाहिरिएको थियो।
डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पा पुग्न पाँच दिनसम्म लाग्ने भएकाले सुरक्षा चुनौती थपिएको छ। धो, साल्दाङ, कागकोटलगायत स्थानमा रहेका प्रहरी चौकीहरू हिउँदमा अत्यधिक चिसो र हिमपातका कारण सदरमुकाम गाभिने गरेका छन्। कात्तिकदेखि चैतसम्म करिब छ महिना उपल्लो डोल्पा प्रायः सुरक्षाविहीन हुने गरेको डोल्पोबुद्धका ग्याल्पो भोटेले बताए ।
सुरक्षा अभावका कारण ऐतिहासिक सम्पदा चोरी, गाउँघर लुटपाट, जडिबुटी तथा वन्यजन्तुको अवैध कारोबारजस्ता गतिविधि विगतमा हुँदै आएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार २०७२ सालदेखि हालसम्म उपल्लो डोल्पाबाट ७३ थान प्राचीन मूर्ति चोरी भएकोमा ५० थान फेला परेका छन् भने २३ थान अझै बेपत्ता छन्।
राज्यका बेवास्ताका कारण मोरिम्ला र क्याटो नाका वैधानिक हुन सकेका छैनन् तर प्रत्येक वर्ष प्रहरी मात्रै भने खटाइन्छ । यसमा पनि क्याटो नाका कहिलेकाहिँमात्र खुल्ने गर्दछ । वर्षमा एक पटकमात्र खुल्ने उक्त नाकाहरुमा अस्थायी भन्सार कार्यालय समेत राखिएको छैन ।जडिबुटी लगायतका वन पैदावार बेच्न जाने सर्वसाधारणको चेक जाँचका लागि सीमा क्षेत्रमा डिभिजन वन कार्यालयको चेक पोष्ट समेत छैन । व्यापारीहरु निर्वात रुपमा जडिबुटीको कारोबार गर्ने गर्दछन् । राज्यको दरिलो उपस्थिति नहुँदा प्रत्येक वर्ष नाका खुल्दा गैह्र कानुनी गतिविधि हुन सक्ने बताइन्छ । उपल्लो डोल्पाको कतिपय क्षेत्र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले कस्तुरी, हिँउ चितुवा लगायतका वन्यजन्तुहरु पाइन्छन् ।
त्यतिमात्र नभइ बहुमूल्य जडिबुटी पुरातात्त्विक मूर्ति राखिएका ऐतिहासिक गुम्बाहरुसमेत उपल्लो डोल्पामा छन् । तर नाका खुल्दा सामान्य चेकजाँच गरेरै सर्वसाधारणलाई पठाइने भएकाले अवैध गतिविधि हुन सक्ने आकलनसमेत गरिएको हो ।
नाका खुल्दा जिल्लाबाट पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरीले अस्थायी रुपमा सुरक्षा दिँदै आए पनि पूर्ण सुरक्षाका लागि बिओपी स्थापना गरिनुपर्ने उपल्लो डोल्पाबासीको माग छ ।
वर्षमा एक पटक चिनियाँ क्षेत्रमा लाग्ने व्यापारीक मेलामा सर्वसाधारणले करोडौंको बस्तु आयात तथा निर्यात गर्ने गरे पनि भन्सार शुल्क एक रुपैयाँसम्म उठ्दैन । जसले गर्दा राज्यलाई उठ्नुपर्ने भन्सार कर त्यसै खेर जाँदै आइरहेको छ। प्रत्येक वर्ष जति दिन नाका खुल्छ त्यति समयका लागि भए पनि अस्थायी भन्सार कार्यालय सरकारले राख्नुपर्ने जिल्लाका सुरक्षा प्रमुखहरुको धारणा छ ।











