डोल्पा । डोल्पामा जीप दुर्घटना पारेर घाइते भएका ९ जनाको परिचय खुलेको छ ।
जिल्लाको ठुली भेरी नगरपालिका-०९ भित्तीस्थित भेरी करिडोर सडकखण्डमा शनिबार साँझ भएको जिप दुर्घटनामा घाइते भएका ९ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार साँझ करिब साढे ६ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको ग १ ज ६४३७ नम्बरको यात्रुवाहक जिप एक्कासी ब्रेक फेल भई दुर्घटनामा परेको थियो । ठुली भेरी-०९ मोतिपुर निवासी ३१ वर्षीय राजकुमार सिंहले चलाएको उक्त जिप विपरीत दिशाबाट आउँदै गरेको रा १ च २९४८ नम्बरको ट्याक्टरसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका-०६ का २७ वर्षीय कारप लामा, सोही पालिका ०५ का १९ वर्षीय पेमा दोर्जे, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ की ३५ वर्षीया नबिना राना, १४ वर्षीय केशव रानामगर, जाजरकोटको बारेकोट गाउँपालिका-०४ का २७ वर्षीय प्रेमबहादुर रावत, २२ वर्षीया ललिता पुन मगर, सुर्खेतको बराहताल गाउँपालिका-०६ का ३० वर्षीय दीप रामजाली, २८ वर्षीय बखत विक तथा ३८ वर्षीय रमेश रामजाली रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।



उनका अनुसार अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको छ। घाइते भएका केहीको टाउकोमा चोट लागेको छ भने केहीको छाती, नाक, दायाँ हात र बायाँ काँधमा चोट लागेको छ ।
घाइते सबैको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको र दुवै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
दुर्घटनाग्रस्त जिप र ट्याक्टर घटनास्थलमै रहेको दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको समेत जानकरी दिएको छ।











