सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले मंगलबार प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो। चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ।


आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमध्ये चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको २४.३१ प्रतिशत हो। त्यसैगरी पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ५८.३१ प्रतिशत बराबर रहेको छ।
यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको १.४१ प्रतिशत हो।
प्रदेश सरकारले आगामी वर्षको बजेट कार्यान्वयनका लागि विभिन्न स्रोत परिचालन गर्ने जनाएको छ। बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट ८५ करोड ५ लाख ९० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। साथै चालु आर्थिक वर्षमा खर्च नभई बचत हुने अनुमानित ६ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ समेत परिचालन गरिने बताइएको छ।
त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटअन्तर्गत १० अर्ब ६६ करोड ५० लाख ४९ हजार रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ १० अर्ब ६३ करोड २३ लाख रुपैयाँ तथा सशर्त अनुदानतर्फ ५ अर्ब ६७ करोड २५ लाख रुपैयाँ स्रोतका रूपमा परिचालन गरिनेछ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा समपुरक अनुदानअन्तर्गत ६६ करोड ७८ लाख रुपैयाँ र विशेष अनुदानअन्तर्गत ४८ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमानसमेत गरेको छ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, उत्पादन तथा रोजगारी वृद्धि, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको जनाएको छ।











