ताजा
जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीमा विकासको ढोका खोल्छ : ऊर्जामन्त्री श्रेष्ठ  ||    मुगु जिल्ला छोरी सञ्जालको अध्यक्षमा सिद्दा देवि बुढा चयन  ||    दैलेख जिल्ला छोरी सञ्जालको अध्यक्षमा गंगा थापा चयन  ||    डोल्पामा दश रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट  ||    लामो खडेरीपछि वर्षाको कामनासहित जलजात्रामा निस्किए डोल्पाबासी  ||    स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट    ||    डोल्पामा मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको सेनाको हेलिकोप्टरबाट उद्धार  ||    डोल्पाको सुलिगाड खोलामा भेटिएको शव २४ घण्टापछि उद्धार, पहिचान खुल्यो  ||   
बिहिबार , असार १८, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पामा लामो समयसम्म वर्षा नहुँदा खडेरीका कारण बालीनाली सुक्न थालेपछि वर्षाको कामनासहित परम्परागत जलजात्रा निकालिएको छ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-०१ का स्थानीयहरूले जिल्लाकै प्रसिद्ध धार्मिकस्थल श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिरबाट बाजागाजा, शंखध्वनि र भगवतीको निशानसहित जलजात्रा निकालेका हुन्। स्थानीय समुदायका अनुसार यसरी जलजात्रा निकालेर विशेष पूजाआराधना गरेपछि वर्षा हुने जनविश्वास रहिआएको छ।

लामो समयदेखि पानी नपरेपछि खेतबारी सुक्न थालेका छन् भने किसानहरू चिन्तित बनेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै मन्दिरका पुजारी, निशानी, छडीदार तथा त्रिपुरासुन्दरी नगरपालिका-०१ का भक्तजनहरूले सुक्खा धानखेतमा कुद्ने, विभिन्न पानीका मुहानमा पुगेर पूजा गर्ने तथा परम्पराअनुसार बोका बलि दिने चलन रहेको स्थानीयले बताएका छन्।

जलजात्रा सुरु हुनुभन्दा तीन दिनअघि नै स्थानीय महिला तथा पुरुषहरू मन्दिरमा भेला भएर भगवतीसँग वर्षाको कामना गर्दै भाकल गर्ने, अग्निधुनी बाल्ने र रातभर जाग्राम बस्ने परम्परा पनि रहेको छ।

जलजात्राका क्रममा मन्दिर परिसरको सिम कुनामूल, रल्ली सिमकुना लगायतका मुहानमा विशेष पूजा गरिन्छ। त्यसपछि भगवतीको गुठी जग्गामा रोपिएको धानखेतमा हिलो खेल्दै आकाशतर्फ मन्दिरमा नित्यपूजामा प्रयोग गरिएको पवित्र जल छर्कने परम्परा रहेको छ।

मन्दिरका पुजारी टंक प्रसाद उपाध्यायका अनुसार हिन्दू धर्मग्रन्थ श्रीस्वस्थानीमा मानव उत्पत्तिको समयमा त्रिपुरासुन्दरी भगवती मन्दिरमा मेघले समेत तपस्या गरेको उल्लेख भएकाले भगवतीलाई वर्षाकी देवीका रूपमा पनि पूजा गर्ने परम्परा रहेको छ।

उनका अनुसार रामनवमी र विजया दशमीबाहेक अन्य समयमा मूल मन्दिरबाट बाहिर ननिकालिने भगवतीको निशान जलजात्राका बेला मात्रै निकालिन्छ। यसरी जलजात्रा सम्पन्न गरेपछि जस्तोसुकै खडेरी परे पनि वर्षा हुने जनविश्वास रहिआएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP