डोल्पा। भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पाको लासीक्याप-सीसौल खण्ड निर्माणलाई अगाडि बढाउने निर्णय गरिएको छ ।
बिहीबार संघीय राजधानी काठमाण्डौमा डोल्पादेखि निर्वाचित सांसद धन बहादूर बुढाको नेतृत्वमा बसेको बैठकले डोल्पाको लासीक्यापदेखि सिसौल सम्मको माथिल्लो खण्डको सडक निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाउने निर्णय गरिएको सांसद बुढाले बताए ।


उनका अनुसार बैठकले दुनै-लासीक्याप खण्डको ट्र्याक हालसम्म नखुलेका कारण पहिलो चरणमा नेपाली सेनाले सीसौलबाट सडक निर्माणको काम अघि बढाउने निर्णय गरेको र पहिलो चरणमा आयोजनाका लागि ८ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बैठकमा दुनै-लासीक्याप सडकको ट्र्याक खुलेलगत्तै लासीक्यापदेखि सीसौल हुँदै दुवैतर्फबाट एकसाथ निर्माण कार्य अघि बढाइने निर्णय समेत भएको सांसद बुढाले जानकारी दिए।
यसैगरी, सांसद बुढाले माथिल्लो दुनै क्षेत्रमा बेलिब्रिज निर्माणका लागि पहल गरिएको बताएका छन्। भेरी करिडोरको निर्माण कार्यलाई अझ छिटो र प्रभावकारी बनाउन डोल्पाको काइके गाउँपालिकाभित्र पर्ने लावन बगरमा समेत बेलिब्रिज निर्माणका लागि आवश्यक पहल गरिएको बताए।
सांसद बुढाको पहलमा बसेको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव कृष्णराज पन्त, उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाका निर्देशक धर्मेन्द्र झा, भेरी करिडोर कार्यालयका प्रमुख नरेशप्रसाद केशरी, नेपाली सेनाका सहायक रथी अशोककुमार शाह तथा प्रमुख सेनानी अभिषेक बस्नेतलगायतको सहभागिता रहेको थियो।
बैठकले भेरी करिडोरको निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।











