डोल्पा। हिमाली जिल्ला डोल्पाको सुलीगाड खोलामा बेवारिसे अवस्थामा भेटिएको शव उद्धार गर्न सुरक्षाकर्मीलाई कठिनाइ भएको छ।
जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका-०८ छेप्का क्षेत्रस्थित सुलीगाड खोलामा आइतबार बेवारिसे शव देखिएपछि स्थानीयवासीले बिहान करिब ११ बजेतिर प्रहरीलाई खबर गरेका थिए।


सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । तर शव खोलाको गहिरो खोल्साभित्र अड्किएको र भौगोलिक अवस्था जोखिमपूर्ण सँगै खोलाको बहाव बढेको हुनाले उद्धार कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए।
उनका अनुसार आइतबार दिनभरि साँझसम्म सुरक्षाकर्मीले शव निकाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्।
प्रहरी नायब उपरीक्षक गिरीले भने, ‘आइतबार दिनभर साँझसम्म शव निकाल्ने प्रयास गर्यौं, तर सफल हुन सकेनौं। शव खोलाको गहिरो खोल्साभित्र रहेको कारण उद्धार गर्न निकै कठिनाइ भइरहेको छ।’
उनले थपे, ‘हामीसँग उपलब्ध सबै सुरक्षा निकायका जनशक्तिले प्रयास गरेका छौं। तर शव निकाल्ने क्रममा केही भाग चुँडिएर आउने अवस्था भएकाले सिंगो शव निकाल्न समस्या भइरहेको छ। त्यसैले तालिमप्राप्त उद्धारकर्मीको सहयोगका लागि गृह मन्त्रालयमा अनुरोध गरेका छौं।’
प्रहरीका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयसँग विशेष तालिमप्राप्त जनशक्ति माग गरिएको छ। सोमबार प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र प्रहरी नायब उपरीक्षक गिरीसहितको टोली समेत घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ।

हाल शवको पहिचान खुल्न सकेको छैन। उद्धार सम्पन्न भएपछि मात्रै शवको सनाखत तथा घटनाबारे थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।











